होमपेज / समाज

सल्यानमा डिएसपी ढकेन्द्र खतिवडाको एक बर्ष

  नबिन पौडेल २०७७ भाद्र १९ गते शुक्रबार ०९:३९:४३   ६१६० पटक हेरिएको

१९ भदौ, सल्यान :
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक (डिएसपी) ढकेन्द्र खतिवडाले विहीबार पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षे कार्यकालमा भएका कार्यहरुको  विवरण सार्बजनिक गरेका छन।

२०७६ साउन ३० को सरुवा निर्णय पछि २०७६ भदौ १८ मा जिल्ला प्रहरी कार्यालय सल्यानमा हाजिर भएर उनले सल्यान प्रहरीको नेतृत्व सम्हालेका थिए । आफु सल्यानबाट सरुवा भएर जान लागेको र विहीबार सल्यान प्रहरीको नेतृत्व लिएको ठीक एक वर्ष पुगेको अवसर पारेर उनले कार्यालयमा पत्रकार सम्मेलन गरेका हुन । २ नं. प्रदेश, प्रहरी तालीम केन्द्र धनुषामा उनको सरुवा भएको छ । पत्रकार सम्मेलनमा उनले यो अवधीमा आफुले सम्पन्न गरेका र सम्पन्न गर्न नसकेका कार्यहरुको बारेमा जानकारी गराएका छन् । 

ऊर्जाशील, सृजनशील र कुशल संगठनकर्ताको छवि बनाएका डिएसपी खतिवडाले सल्यान प्रहरीको नेतृत्व लिए यता थुप्रै रचनात्मक र प्रशंशनीय कार्य गरेका छन् । यो कार्यकालमा अधिकतम केस र कार्यहरुमा उनी सफल नै भएका छन् । उनको सल्यान बसाइमा प्राप्त गरेको सफलता यस्तो रहेको छ।

सफलता •
 एक वर्षको अवधीमा विभिन्न मुद्दामा संलग्न रहेका २ सय २५ जना प्रतिवादीहरुलाई पक्राउ गरी सबै मुद्दाहरु फछ्र्यौट गर्न सल्यान प्रहरी सफल भएको छ । प्रतिवन्धित विप्लव समूहका २१ जनालाई पक्राउ गरी आवश्यक कार्वाही अघि बढाएको पनि उनले बताएका छन् ।

 मोटरसाईकल चोरी निकासी गर्ने तथा चोरीको मोटरसाइकल प्रयोग गर्ने अवस्थालाई नियन्त्रण गर्नको लागि पनि सल्यान प्रहरी सफल भएको छ । यस क्रममा अवैध चोरी निकासी गरिएका ७ वटा मोटरसाईकल नियन्त्रणमा लिई नेपालगन्ज भन्सारमा बुझाईको छ । 

यसै गरी सवारी दुर्घटना न्यूनीकरण, यात्रुको सुरक्षा, बालविवाह नियन्त्रण, संगठन सुदृढीकरण लगायतका क्षेत्रमा पनि सल्यान प्रहरीले प्रशंशनीय कार्य गरेको छ । यस अन्तर्गत सल्यान प्रहरी तथा प्रशासन सम्म नागरिकको पहुँच वृद्धि गर्न र सामाजिक सुरक्षा कायम गर्नको लागि “एक घर एक स्टिकर अभियान” सन्चालन गरेको थियो । यो कार्यबाट यथार्थमै प्रहरी तथा प्रशासन समक्ष नागरिकहरुको पहुँच अभिवृद्धि भएको छ र प्रहरी प्रशासनको सूचनाको श्रोत पनि फराकिलो भएको छ ।

 यो अभियानको पूर्णता पश्चात अपराधका घटना बढ्दो दरमा बाहिर आईरहेका छन् । यसका साथै छत्रेश्वरी गाउँपालिकाको सहकार्यमा “एक गाडी एक स्टिकर” र “यात्रु सँग दुई मिनेट कार्यक्रम” सन्चालन गरेको थियो । लकडाउनका कारण यसको प्रभावकारिता मूल्यांकन गर्न नपाएको डिएसपी खतिवडा बताउँछन् । 

बालविवाह न्यूनीकरणका सम्वन्धमा १ सय ५० जना पण्डित, जैसी, पास्टरहरुलाई प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको थियो । यसको लागि प्रहरीले छापाखानाहरु सँग समेत निम्तो छाप्दा जन्मदर्ता हेर्नुपर्ने व्यवस्था मिलाएको थियो । प्रहरीको कडा अभियान पश्चात जिल्लामा अहिले बालविवाहको दर न्यून भएको छ र यो अझै घट्दो अवस्थामा रहेको छ । 

सल्यान जिल्ला अदालतबाट विभिन्न समयमा फैसला भइ दोषी ठहर भएका प्रतिवादीहरु पक्राउ गरी तोकिएको सजाय भुक्तान गराउने सन्दर्भमा पनि प्रहरीले सफलता प्राप्त गरेको छ । यस अन्तर्गत विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १ सय २४ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको डिएसपी खतिवडाले बताएका छन् । साउन ८ यता गरिएको अपरेसनमा पक्राउ परेका १ सय २४ जना मध्ये कैद सजाय तोकिएका ४२ जना जेल चलान भएको र जरिवाना मात्र तोकिएका बांकी १ सय ०८ जनाले जरिवाना भुक्तान गरेको उनले बताए । 

सडक दुर्घटना न्यूनीकरण गर्नको लागि टाइम कार्ड लागु, सवारी कागजातहरुको कडा चेकङि र कार्वाहीमा पनि प्रहरीलाई सफलता प्राप्त भएको छ । 

आफ्नो एक वर्षे कार्यकालमा उनले आन्तरिक शुद्धिकरणको लागि सबै तहका प्रहरीहरुलाई मादक पदार्थ सेवन नगर्ने र यस्तो अवस्थामा भेटिएमा कानुन बमोजिमको कारर्वाही भोग्न तयार भएको प्रतिवद्धता गराएका थिए । यसमा पनि उनलाई पूर्ण सफलता प्राप्त भएको छ । यसका अलावा कार्यालय सुदृढीकरण तथा व्यवस्थापनमा पनि उनले उल्लेखनीय कार्य गरेका छन् । शान्ति सुरक्षा, अपराध नियन्त्रण, सामाजिक कुरिती न्युनीकरण लगायतका क्षेत्रमा उनले प्रशंशनीय कार्य गर्न सफल भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top