होमपेज / राजनीति

गोल हान्न तम्सिएका ‘माहिर मिडफिल्डर’ केशव आचार्य

तिखो खबर २०७६ मंसिर १ गते आइतबार २१:१०:३० मा प्रकाशित     ४५३ पटक हेरिएको

देवेन्द्र बस्नेत /१ मंसिर दाङ :

पटक–पटकका चुनावी मैदान । बिपक्षीको पोष्टमा ‘गोल’ हिर्काउने एकमात्रै लक्ष्य बोकेर मैदान उत्रन्थे — माहिर ‘मिडफिल्डर’ केशवराज शर्मा आचार्य । रुख अंकित जर्सीधारी केशवले कुनै पनि चुनावी गोलको संख्या आफ्नो खातामा जम्मा गर्न चाहेनन् ।

गोल आफ्ना लागि हैन, आफ्नो सिंगो टिम (कांग्रेस)का लागि हानिनु पर्छ भन्ने मान्यतामा अडिग रहे उनी । केवल ‘टिम’ को जीतका लागि एक कुशल ‘सिपाही’ बनेर खेलमैदानमा उत्रने केशवकै कुशल ‘पास’ मा उनका अग्रज खुमबहादुर खड्का लगायत गेहेन्द्र गिरी, दिपक गिरीले बिपक्षीको पोष्टमा पटक–पटक गोल हिर्काए ।

 सधैँ ‘बल पास’ का लागि मिडफिल्डमा उत्रने केशवले कहिले गोल हान्ने ? केस सेतै फूल्यो । अनुहार मुजा पर्नै आँट्यो । तथापी ४७ बर्ष लामो राजनीतिक खेल जीवनमा गोल प्रहारको ‘ख्वाब’ कहिल्यै देखेनन् केशवले । उनले पहिला टिमलाई जिताए अनि बल्ल आँफूले जिते । ४७ बर्षपछि बल्ल उनि अहिले आफ्ना लागि दाङ क्षेत्र नम्बर ३ (ख) को चुनावी मैदानमा गोल हान्ने अवसरमा छन् ।

उनकै अथक योगदानमा गोल हानेका खुमबहादुरको देहान्त भैसकेको छ । अहिले उनलाई गोल हान्नका लागि उनका अग्रज,समकालिन तथा पछिल्लो पुस्ताका खेलाडीहरु सहज ‘बल पास’ दिन चुनावी मैदानमा खटिएका छन् । सिंगो टिमको यहि अथक मेहनत र सक्रियताकै उपज १४ मंसिरमा उनि विपक्षीको पोष्टमा गोल हान्न निकै उत्साहित छन् । ‘मैले २०२९ देखिको मेरो राजनीतिक यात्राका क्रममा कहिल्यै आफ्नो लागि हिँडेन,सधैँ अरुको प्रचारमा प्रमुख भुमिकामा रहेर खटिएँ’ केशव भन्छन् ‘अहिले बल्ल म आफ्नो प्रचारमा खटिएको छु ।’

२०२९ सालको कुरा हो । ९ कक्षामा पढ्थे केशव । त्यो बाल्यकालमै कांग्रेसी भाव ‘उत्पात’ जागिसकेको थियो । उनले भने ‘मैले आँफूलाई मात्रै कांग्रेसी जस्तो मान्थे ।’ त्यहि सालको एकदिन केशवका गुरु भीष्म केसीले कक्षामा पढाउने बेलैमा भने ‘भोली जसले सफ कापी ल्याउँदैन, उसले कारवाही भोग्छ ।’ अर्को दिन केशव कक्षा प्रवेश गरे, सर भिष्मले सफा कापी खोजे । केशवसंग थिएन । भीष्मले सजाय दिए — उनको क्लासभर उभिनु पर्ने । 

त्यो बेलै हक्कि स्वभावका केशवले सरले दिएको सजाय भोग्न मानेनन् । उनी कक्षाबाटै निस्किए । ‘तपाईले पढाईरहनुस् म निस्किएँ भनेर कक्षा कोठाबाट निस्किएँ,’केशवले भने ‘म त्यो बेलाको टाँठोबाठो विद्यार्थी, मलाई सजाय भोग्न साह्रै लाज लाग्यो, अनि कक्षाबाट निस्कनै बेस ठानेँ ।’ केशवको त्यहि ‘बाल हक्कि’ निर्णयले कांग्रेसको राजनीतिमा स्थापित गराईदियो उनलाई । त्यहि दिन साँझ कांग्रेस नेता खुमबहादुर खड्का पश्चिम दाङको बागर पुगेका थिए । खड्काले भीष्मसंँग विद्यालयको टाँठो, हक्की विद्यार्थीका बारेमा सोधे । भीष्मको नजरमा आँफूले सजाय दिनेबेलामा नटेरेर कक्षा छोडेका उनै केशव हक्कि देखिए । भीष्मले खुमबहादुरलाई नाम दिए — केशव आचार्य ।त्यहि बेलादेखि उनी कांग्रेसको सक्रिय राजनीतिमा जोडिए ।म मेरा गुरु भीष्मसर प्रति नमन गर्छु, उहाँको नजरमा म हक्कि, निडर देखिनुनै मेरो राजनीतिक उपलब्धीको एउटा ठूलो हिस्सा हो’ केशवले भने ।

आफ्नो राजनीतिक यात्राकाकै क्रममा देशमा चलेका विभिन्न आन्दोलनको अग्रपंक्तिमा उनै हक्कि केशव देखिन्थे । पटक पटक गरि झण्डै दुई बर्षसम्म कांग्रेसी भएकै कारण जेल सजाय भोग्नु पर्यो उनले । तथापी कांग्रेसका सिपाही बनेर आन्दोलनको मोर्चामा उभिन कहिल्यै छोडेनन् । ‘म आन्दोलन भन्दा बित्तिकै अग्रमोर्चामा उभिन मन लाग्थ्यो,’उनले भने ‘विभिन्न समयमा भएका आन्दोलनमा सहभागी भएकै कारण म पटक पटक गरि दुई बर्षको समय जेलमै बसेँ ।’ चुनाव आयो कि कुनै पर्व आएजस्तै हुन्थ्यो । चुनावी मोर्चामा अहोरात्र खटिन पाउनुलाई उनले कहिल्यै दुख सम्झेनन् ।

कांग्रेसका लागि चुनावी मोर्चामा सहभागी हुन पाउनुलाई ठूलो अवसरका रुपमा लिन्थे उनी । २०४८ मा त उनि कांग्रेस नेता खुमबहादुर खड्काको चुनावी मोर्चाका कमाण्डर बनेर खड्कालाई जिताउन ठूलो योगदान गरे । ‘खुमबहादुर दाईको चुनावी प्रचार प्रसार संयोजकको रुपमा आँफूले काम गर्न पाउँदा निकै भाग्यमानी ठानेँ,’ उनले भने ‘त्यो बेला दाईले जित्नु भयो, आँफैले चुनाव जितेको महशुस भएको थियो ।’ पार्टीका लागि अहोरात्र खटिएर ‘त्यागी राजनीतिकर्मी’ को परिचय बनाएका केशवले आफ्नो घरलाई नेताहरुको सेल्टर समेत बनाएका थिए ।

२०४० सालमा गिरीजाप्रसाद कोईराला र सुशील कोईराला सल्यान जाने क्रममा उनै केशवको घर (सेल्टर) मा बसेका थिए । त्यहि बेला कोईरालाद्धय पक्राउ परेका थिए । माओवादी द्धन्द्धकालमा कांग्रेसी भएकै कारण अपहरणमा परे । अपहरणमा परेका उनलाई माओवादीले सशुकल रिहाई गरेका थिए । केशवले बिपी कोईरालाको साथमा २०३५ सालमा भारतको बनारसमा विशेष प्रशिक्षण लिई २०३७ सालसम्म उनै बिपीसंगै बनारसमा कांग्रेसको सक्रिय राजनीति गरेका थिए । २०३६ देखि २०७० सम्म निरन्तर कांग्रेसको जिल्ला सदस्य, उपसभापति र संगठन विभागको प्रमुख भएर काम गरिसकेका केशव निरन्तर पार्टीका नेता तथा कार्यकर्ताहरु माझ घुलमिल भैरहने नेताको छबी कायम गरे ।

२०५५ सालमा जिल्ला विकास समितिको ईलाका नम्बर ९ बाट नेपाली कांग्रेसको तर्फबाट जिल्ला विकास समिति सदस्य बनेर काम गरेका उनी आम मतदाताको दैलो दैलोमा पुगेर विकासे योजनाहरुको तानाबाना बुनेका थिए । यस्तै तत्कालीन हेकुली गाविस वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित भई जनप्रतिनिधिको काम गरेका केशवले त्यो बेला गरेको वडाको बिकास मतदाताहरुको मानसपटलमा चिरस्थायी छ ।

लामो राजनीतिक अनुभव । अनुभवले खारिएको बिकासे रणनीति । अनी मतदाताहरुमाझ चिरस्थायी बनेको लोकप्रियताले केशवलाई चुनावी मैदानमा खारिएको एकमात्रै शक्तिका रुपमा उतारेको छ । उनको यहि प्रभाव र छवीलाई आम मतदाताहरुले रुचाईदिएका छन् । अहिले दैलो दैलोमा पुगेर मतदातासंगको सामिप्यताको डोरी कसक्क पार्दै हिँडेका केशवको बुढ्यौली अनुहारमा थकानको संकेतसम्म देखिन्न । बरु बुढ्यौली अनुहार उत्साह र मुस्कानले चकमन्न देखिन्छ । कारण उनि चुनावी जीत या हारको अंकगणितको जोडघाटाउको चिन्तनमा भन्दा मतदाताहरुको दैलोमा पुगेर सुखदुख बुझ्ने अवसर पाईरहेका छन् ।

म मेरो क्षेत्रमा घरमा नबसेको, पानी नखाएको कुनै पनि घर थिएन, अहिले चुनावी प्रचारका क्रममा फेरी उनै साथीभाई, छरछिमेकको घरमा पस्न पाएको छु,सन्चो बिसन्चो सोध्न पाएको छु’केशवले भने ‘मेरो राजनीतिक जीवनमा यो भन्दा ठूलो खुशी अरु के पो हुन सक्छर ?’ तथापी चुनावी अंकगणितको जोड आफ्नो पक्षमा बढ्नेमा विश्वस्त पनि छन् उनि । पार्टी र आम सर्वसाधारणको हितका लागि उनले गरेको विशिष्ट योगदानको प्रतिफल— जीत निर्विकल्प बन्नेमा उनि अनि उनका चुनावी खेलमैदानमा उत्रिएका सहकर्मीहरुको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top