होमपेज / राजनीति

महरा कारागार चलान

तिखो खबर २०७६ कार्तिक १८ गते सोमबार १८:४१:३३ मा प्रकाशित     १८३ पटक हेरिएको

१८ कार्तिक काठमाडौ :
संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

सोमबार मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो। अदालतकाे उक्त  आदेशसँगै महरा डिल्लीबजार कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार आनन्दप्रसाद श्रेष्ठले यसको पुष्टि गरेका छन्। उनले पक्ष र विपक्षको बहस सुनिसकेपछि इजलासले महरालाइ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे बताए।

बलात्कार प्रयासको आरोप लागेपछि महरालाई गत असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो। 

अनुमति पाएसँगै प्रहरीले उनलाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो। पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आएका थिए।

तर स्वास्थ्य अवस्था बिग्रिएपछि केही दिनयता महरा नर्भिक अस्पतालमा उपचाररत थिए। मंगलबार अस्पतालबाटै उनलाई सरकारी वकिलको कार्यालय लगेर थुनछेक बहस गरेपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो।

अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीलाई थप अनुसन्धानको बाटो खुल्ला भएको थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top