होमपेज / स्थानीय

रोल्पा सिमेन्ट उद्योगको टिपरले उडाएको धुलोले कपुरकोटबासिलाई सास्ति

  नबिन पौडेल २०७७ आश्विन १८ गते आइतबार १५:५१:४२   २४५० पटक हेरिएको

१८ असोज, सल्यान :
सिमेन्ट उद्योगले कच्चा पदार्थ र सिमेन्ट ओसारपसार गर्न प्रयोग गरेका टिपरले उडाएको धुलो र धुवाँले सल्यानको कपुरकोट वासीले सास्ती व्यहोर्दै आएका छन्।

रोल्पाको त्रिवेणी गाउँपालिका स्थित कोइलामा रहेको रोल्पा सिमेन्ट उद्योगका टिपरको धुलो धुवाँले आसपासका बासिन्दाले सास्ती भोग्दै आइरहेका हुन्। सारपानी, खहरे, कपुरकोट बजार, सलाम, बगाले, बिसौना र खालीका करिब २०० भन्दा बढी घरपरिवारले धुलो धुवाँको सास्ती व्यहोर्दै आइरहेका छन्।

धुलोका कारण अधिकांश घर बस्नलायक नभएको स्थानीयको गुनासो छ। जथाभावी टिपर नचलाउन पटकपटक आग्रह गरे पनि बेवास्ता हुँदै आइरहेको कपुरकोट गाउँपालिका–५ का गिरिराज ओलीले बताए। बढी भार भएका टिपर ग्रामीण सडकमा सञ्चालन हुँदा अधिकांश सडक समेत जीर्ण बनेको उनको भनाइ छ।

‘धुलो र धुवाँका कारण स्थानीयको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छ,’ उनले भने, ‘बढी भार भएका गाडीका कारण सडकका अधिकांश खण्ड चिराचिरा परेका छन्।’ टिपरले उडाउने धुलोले व्यवसाय गर्न समस्या भएको स्थानीय व्यापारी शेरबहादुर रोका बताउँछन्। उनले भने‚ ‘टिपरले उडाएको धुलोले गाउँघर धुलाम्य बनेको छ। 

कपुरकोट आउने बटुवाले पनि ठूलो दुःख भोगेर पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।‘ धुलो र धुवाँका कारण सडक छेउछाउमा लगाइएको तरकारी र अन्नबालीमा पनि असर परेको कपुरकोट गाउँपालिका–५ का वडाध्यक्ष यमकुमार बस्नेतले बताए। उनले भने‚ ‘हामीले सिमेन्ट उद्योगलाई पटकपटक सचेत गराएका छौं, तर लामो समयदेखि बेवास्ता भइरहेको छ।

यता सिमेन्ट उद्योगका प्रशासन प्रमुख सुरेन्द्र अधिकारीले स्थानीयलाई असर नपर्ने गरी टिपर सञ्चालन भइरहेको दाबी गरे। सरकारले दुई वर्षयता फ्याक्ट्रीसम्म पुग्ने सडक मर्मतमा बेवास्ता गरेको उनको भनाइ छ। ‘सडकको स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको हो, ’ उनले भने‚ ‘उद्योगको तर्फबाट ढुवानी कम्पनीसँग सहकार्य गरी सामान्य मर्मतका काम नियमित गरिरहेका छौं।’

अधिकारीका अनुसार कच्चा पदार्थ र सिमेन्ट ढुवानीको जिम्मा लिएको पुन कन्स्ट्रक्सनले प्रतिटन २५ रुपैयाँ रकम संकलन गरेर सडक मर्मतको काम गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top