मोहन्याल गाउँपालिका कैलाली जिल्लाको उत्तरपूर्वी पहाडी क्षेत्रमा पर्दछ। साविकका मोहन्याल, पण्ड़ौन र सुगरखाल गाविसहरू मिलेर बनेको यो गाउँपालिकाको कुल क्षेत्रफल ६ सय २६.९५ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा सुर्खेत जिल्ला, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र सुर्खेत जिल्ला र दक्षिणमा गौरिगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकासँग जोडिएको छ।
देशका बढी जनसंख्या भएको जिल्लाहरू मध्ये एक कैलाली जिल्लामा रहेको यस गाउँपालिकामा भने जनघनत्व एकदम कम रहेको छ। बि.स. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २१ हजार ८२ रहेको छ।
पर्यटन, वन सम्पदा, धार्मिक तथा प्राकृतिक दृष्टिले प्राचीन र ऐतिहासिक महत्वको यो गाउँपालिका विकासमा निकै पछाडि रहेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायात जस्ता आधारभूत आवश्यकताका वस्तुहरू पनि यो गाउँपालिकामा नागरिकहरूले उपभोग गर्न पाएका छैनन्। फलफूल, तरकारी लगायत अन्य कृषि उत्पादनको लागि राम्रो प्रकारको क्षेत्र मानीने यो गाउँपालिकामा अहिले सम्म पनि सडक सञ्जाल जोड्न सकिएको छैन। सामान्यतया गाउँपालिकाको केन्द्र रहेको खिमडीसम्म सडकको ट्याक खोलीएको भएता पनि यो सडक निकै जोखिपूर्ण रहेको छ। वर्षमा मुस्किलले ६ महिना मात्र सञ्चालन हुने यो सडकमा साना हल्का सवारी साधन चलाउन पनि निकै समस्या रहेको छ।
विगतदेखि नै पछाडि परेको यो गाउँपालिकाको विकासमा पछिल्ला चरणका आएका जनप्रतिनिधिहरू पनि जिम्मेवार देखिँदैनन्। मुलुक संघीय संरचनामा गएपछि गठन भएका स्थानीय तहहरूमा पहिलो कार्यकालका जनप्रतिनिधिहरूले पाँच वर्षीय कार्यकाल समाप्त गरेपछि दोस्रो कार्यकालका जनप्रतिनिधिहरू काम गरिरहेका छन्।
तर विडम्बना भन्नु पर्छ, मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिहरू विगतदेखि नै यो क्षेत्रको विकास र नागरिकका समस्याप्रति जिम्मेवार बनेका देखिँदैनन्। विगतदेखि अहिले सम्मका जनप्रतिनिधिहरू आफ्नै स्वार्थ र बागबन्डामा लिप्त रहँदा आएका छन्। यस गाउँपालिकामा दीर्घकालीन सोचका साथ जनप्रतिनिधिहरूले काम गरेको पाइदैन। एक-एक गरी थालिएका विकास योजनाहरू पनि अलपत्र अवस्थामा छन्। विकास योजनाहरूको कमिशन माग्न यहाँका जनप्रतिनिधिहरू चर्चामा आएका छन्। स्वयम् जनप्रतिनिधिहरूले एकअर्कोलाई कमिशन माग्ने र नपाए काम नै रोक्ने गरेको आरोप पनि लगाइन्छ।
महोन्याल गाउँपालिकाका हालका अध्यक्ष देविदक्त उपाध्याय र उपाध्यक्ष कमल साउँद बीचको स्थिति पनि पानी बाराबारको अवस्थामा रहेको छ। विकास निर्माण, नीति, सिद्धान्त आदि कुरामा नमिलेर मात्र नभएर उनीहरूको व्यक्तिगत इगाको कारण गाउँपालिकाको सम्पूर्ण निर्णय प्रक्रियामा अनिर्णयको स्थिति सिर्जना भएको छ। गत असरक १० गते आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याउन बसिरहेको गाउँ सभामा एक पक्षले साँघातिक हमला गर्दा कयौं जनप्रतिनिधि र कर्मचारी घाइते भएका थिए, र गाउँपालिकाको भवनको झ्यालका सिसा तथा कुर्सी टेबुल तोडफोड भएका थिए। बजेट पास नगरी बिथोलीएको गाउँसभा पुनः अहिले सम्म पनि बस्न सकेको छैन। यो आर्थिक वर्षको आधा समय बितिसक्दा पनि बजेट ल्याउनका लागि जनप्रतिनिधिहरू एकअर्कालाई आरोप लगाउँदै र अदालतमा मुद्दा दायर गर्दै हर्कत गरिरहेका छन्।
यस्तो प्रकारका जनप्रतिनिधिहरूबाट के यो ठाउँको विकास र समृद्धि सम्भव छ? जनप्रतिनिधिहरूका यस्ता हर्कतहरू कहिलेसम्म जनताले हेरी रहने र पीडा सहदै बस्ने?