होमपेज / विचार

अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई फर्केर नियाल्दा

  तिखो खबर खबर डेस्क २०७७ बैशाख १९ गते शुक्रबार १९:३३:४८   ३७२० पटक हेरिएको


वीरबहादुर सेजवाल :

मजदूर अर्थात् श्रमिक भन्नाले कर्मयोगी वा श्रमजीवीलाई वुझ्ने गरिन्छ । अठारौं शताब्दिको प्रारम्भदेखि श्रमिकहरुलाई दासताको जन्जिरबाट मुक्त गराउने अभिप्रायले विश्वमा आल्दोलन शुरु भएको पाइन्छ । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै मजदूरले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभरी मजदूर दिवस मनाउने गरिन्छ ।

तत्कालिन समयमा मजदूर आन्दोलनको क्रममा अमेरिका स्थित ुहे मार्केटु काण्डमा धेरै मजदूरहरुको हताहति भएको थियो तर पनि अन्ततः उक्त आनदोलन सफल भएको थियो र सन् १८८६ को प्रथम मे दिवसमा प्रयोग भएको ऐतिहासिक वाक्य अत्यन्तै मर्माहतपूर्ण रहेको थियो । त्यो थियो :'The day will come when our silence will be more power than the voices you throttling today.'   'अर्थात् एक दिन त्यस्तो दिन हुनेछ जुन अहिलेको हाम्रो मौनता नै तिमीहरुको गर्जनभन्दा वलियो हुनेछ ।

यसरी सन् १९८९ मा अमेरिकाको शिकागोमा भएको श्रमिक आन्दोलनले श्रमिकहरुको हक अधिकार स्थापित गर्न सफल भएको ईतिहास पाईन्छ भने नेपालमा मजदुर नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले वि. सं. २००३ साल फाल्गुन महिनामा विराटनगरस्थित विभिन्न कल कारखानामा श्रम शोषित मजदुरहरु सम्मिलित आन्दोलनको नेतृत्वमार्फत् वि.सं.२००३ साल फाल्गुन २१ गतेका दिन ‘विराटनगर मजदुर यूनियन’ नामक ट्रेड यूनियनको संरचना खडा गरेको पाईन्छ । विभिन्न काल खण्डमा पुनर्गठित हुँदै २०७० सालको पाँचौँ महाधिवेशनबाट ‘नेपाल ट्रेड यूनियन काँग्रेस’ को नामाकरण भई सामुहिक सौदावाजी मार्फत विभिन्न मजदुरहरुको हक हितमा काम गर्दै आएको तथ्य जग जाहेर छ । नेपालको श्रमिक आन्दोलनमा विभिन्न किसिमका श्रमिक संघ संगठनहरुले महत्वपूर्ण भूमिका निभाउदै आएका छन् ।

नेपालमा लोकतन्त्रको स्थापना तथा संस्थागत विकास, जनजिविकाको सवाल, मानव अधिकारको रक्षा, सुशासन, विभिन्न कालखण्डका  राजनैतिक आन्दोलन, श्रमिकको हक अधिकार लगायतका मुद्घामा नेपाल ट्रेड यूनियन काँग्रेसको ब्यापक सहभागिता रहनुका साथै यसतर्फ अग्रणी भूमिका निर्वाह गरेको कुरा समेत हामी सबैलाई विदितै छ । नेपाली श्रमिकहरुको श्रमको उच्च सम्मान गर्ने , जीवनस्तर सुधार गर्ने तथा ‘समान काम , समान ज्याला’ ( Equal job , Equal pay ) को अवधारणालाई सार्थकता दिने एवम् राज्यको नीति निर्माण तथा निर्णय तहमा श्रमिकको सहज पहँुचको प्रतिनिधित्व गराउनेतर्फ अझै आन्दोलित हुनुपर्ने वाध्यता रहेको छ ।

--------------श्रमिक को हो ?

# मानसिक तथा शारीरिक रुपले आफूले काम गरेवाफत् रोजगारदाताबाट पारिश्रमिक प्राप्त गर्ने ब्यक्तिलाई श्रमिक भनिन्छ ।
# स्थायी, अस्थायी, ज्यालादारी, पिसरेट, ठेक्का, करारमा काम गर्ने वा रोजगारीको खोजीमा रहेका वा बेरोजगारी अवस्थामा रहेका ब्यक्तिलाई श्रमिक भनिन्छ ।
# ट्रेड यूनियन ऐनमा उल्लेख भए अनुसार कामदार भन्नाले प्रतिष्ठान र प्रतिष्ठान बाहिर विभिन्न उद्योग, ब्यापार, ब्यवसाय वा सेवामा कार्यरत स्थायी, अस्थायी, करार , दैनिक ज्यालादारी, पिसरेट, ठेक्कामा वा त्यस अन्तर्गत काम गर्ने कामदार तथा कृषि श्रमिकलाई सम्झनुपर्छ ।

------------- श्रमिक अधिकार के हो ?

·श्रमिकले कार्यस्थलमा काम गरेवाफत पारिश्रमिक मात्र नभै अन्य आधारभूत सुविधाहरु समेत प्राप्त गर्ने अधिकार नै श्रमिक अधिकार हो । जसमा निम्न कुराहरु पर्दछन्:

#  काम गर्ने वातावरण अशल , स्वस्थ र सुरक्षित हुनु पर्दछ ।
# काम गरेवाफत उचित ज्याला र सुविधा पाउनु पर्दछ ।
# मुनाफामा श्रमिकको हिस्सा वा हक कायम गरिनुपर्छ ।
# आफूले गर्ने कामका बारेमा पूर्ण जानकारी पाउनुका साथै आवश्यक तालिम एवम् शिक्षा पाउनुपर्छ ।
# श्रमिकहरुका बीचमा घुलमिल हुन तथा सम्बन्ध बिकास गर्न पाउनु पर्छ ।
# श्रमिक उपर सम्मानित र सम्मान ब्यवहार हुनुपर्छ ।
# नियमित स्वास्थ्य परीक्षण र उपचारको समुचित ब्यवस्था हुनुपर्छ ।
# श्रमिकलाई विदाका सुविधाबाट बञ्चित गराउनु हँुदैन ।
# ईच्छा अनुसारको ट्रेड यूनियन गठन गर्न पाउनुपर्छ ।
# श्रमिकको मानसिक र शारीरिक क्षमताभन्दा बढी वा जवर्जस्ती बढी समय र बढी भारको काम लगाउनु हँदैन ।
# श्रमिकले काम गर्ने कार्यस्थलमा सुरक्षाको दृष्टिकोणले निर्धारित मापदण्ड पूरा गरेको स्वस्थ , स्वच्छ एवम् सुरक्षित हुनुपर्छ ।

ट्रेड यूनियन के हो ?   

------------ट्रेड यूनियन श्रमिकको संगठन हो ।

·# श्रमिकको हक, हित र अधिकारको संरक्षणका लागि एक आपसमा सहमत भई निमार्ण गरेको नीति नियम अन्तर्गत रही संचालन भएको प्रजातान्त्रिक श्रमिक संगठन नै ट्रेड यूनियन हो ।

-----------ट्रेड यूनियन अधिकार केलाई भनिन्छ ?

# ट्रेड यूनियनको गठन र संचालनका लागि केहि आधारभूत अधिकारहरु यूनियनसँग सुरक्षित रहेका हुन्छन् ती अधिकारलाई नै  ट्रेड यूनियन अधिकार भनिन्छ । केही ट्रेड यूनियन अधिकारहरु यस प्रकार रहेका छन् ।

# श्रमिकले आफ्नो चाहाना अनुसारको यूनियन गठन गर्न र विना हस्तक्षेप स्वतन्त्र ट्रेड यूनियन संचालन गर्न पाउने अधिकार ।
# संघ र महासंघहरुको गठन गने , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संघ महासंघहरुको सदस्यता लिने र आवद्धता  लिन पाउने अधिकार ।
# संगठन विरोधी कार्य तथा विभिन्न प्रकारका भेदभावपूर्ण ब्यवहारका विरुद्ध संरक्षणको अधिकार ।
# श्रमिकसँग सम्वन्धित आर्थिक, राजनैतिक, सामाजिक , साँस्कृतिक र कानूनी विषयमा मागहरु राख्न पाउने अधिकार ।
# श्रमसँग सम्वन्धित समस्याको समाधान गर्न स्वतन्त्ररुपले सामूहिक सौदावाजी गर्न पाउने अधिकार ।
# हड्ताल गर्न पाउने अधिकार ।

-----------ट्रेड यूनियन  किन आवश्यक छ  ?

# श्रमिकमाथि हुने अन्याय र शोषणको विरुद्ध  तथा समस्या समाधानको लागि संगठित शक्ति तयार गर्न ।
# संगठित शक्तिमार्फत श्रमिकमाथि हुने अन्याय र शोषणको विरुद्ध आवाज उठाउन ।
# रोजगारीको सुरक्षा , उचित पारिश्रमिक , न्याय र सम्मानका लागि एक जुट हुन ।
# समाज र राष्ट्रका लागि योगदान

नेपालको सन्दर्भमा भन्नुपर्दा अनौपचारिक क्षेत्रका मजदूरहरुको अवस्था सुधार गर्नको लागि नीति निर्माण गर्न शुरुमा २०२८ सालमा श्रम सम्बन्धि मामला हेर्न उद्योग मन्त्रालय अन्तर्गत श्रम विभागको स्थापना भएको पाइन्छ । यसै गरी २०३८ सालमा श्रम तथा समाज कल्याण मन्त्रालयको स्थापना भएको र फेरी त्यसलाई परिवर्तन गरेर २०५२ सालमा यसलाई श्रम मन्त्रालय नामाकरण गरियो । त्यसपछि २०५७ सालमा यसैलाई श्रम तथा यातायात ब्यवस्था मन्त्रालय कायम गरियो । पुनः २०६९ सालमा श्रम तथा  रोजगार मन्त्रालय नामाकरण गरियो भने २०७४ चैत्र ३ गतेदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नाममा सञ्चालनमा आइरहेको छ ।

यद्यपि नीतिगत रुपमा तमाम नेपाली मजदूरहरुका लागि विभिन्न नीति नियम नल्याइएको भने होइन तर ती नीति नियमहरुले सार्थक रुप पाउन सकेको पाइदैन । विभिन्न नाममा पटक पटक मन्त्रालय तथा मन्त्रिहरुको मुहार फेरियो तर दिनप्रतिदिन मजदूरहरुको मुहार मलिन बनाउने काम भएको छ । हाल  नेपालमा करीव ८५ प्रतिशत मजदूरहरु अनौपचारिक क्षेत्रका रहेको आँकडा रहेको छ । तिनीहरुको अवस्था दयनीय रहृको छ साथै आश्रित परिवारका लागि शिक्षादिक्षा स्वास्थ्यको त के कुरा ? खाना , नाना र छानाको समेत सामान्य ब्यवस्था गरिएको पाइदैन । उता नेपालको संविधान २०७२ को धारा ३३ मा प्रत्येक नेपालीलाई  रोजगारीको हक हुने छ भनी उल्लेख गरिएको छ तर दुखद कुरा दैनिक १००० देखि १५०० नेपाली यूवाहरु रोजगारको खोजीमा विदेशतर्फ भौतारिएको तथ्यांक पाइन्छ र प्रतिदिन ३ देखि १० जनाका दरले शवहरु नेपालमा आउने गरेको आँकडा हाम्रो सामु रहेको छ । यता नेपालमा दैनिक ज्यालादारी गरेर जीवन गुजरा गर्नेहरुको हविगत हातमुख जोर्ने ( Mouth to hand ) स्थितिमा समेत छैन ।

पछिल्लो समयमा नेपाल सरकारले नेपालको संविधान २०७२ को धारा २९६ को उपधारा (१) वमोजिम् ब्यवस्थापिका संसदद्वारा ूयोगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ू बनेको छ तर विगत झैं त्यसको अक्षरशः पालना भने भएको छैन । यसै गरेर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हाल हरेक स्थानीय तहमा रोजगार संयोजकको ब्यवस्था गरी वेराजगार ब्यक्तिहरुको नामावली संकलन गरिदै आएको छ तर यसले अपेक्षाकृत रुपमा मजदूरका समस्या समाधान गर्न सक्ने कुरामा ढुक्क हुने स्थिति भने छैन । यदि मन , वचन र कर्मले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न सकेमा मात्र पनि हाल नेपालका असंगठित क्षेत्रका ४४ लाख भन्दा बढी मजदूरहरुका यावत समस्याहरु समाधान हुन सक्छन् ।

अर्को कुरा नेपालमा ब्यवस्था परिवर्तन गर्ने क्रममा वि.सं. २००७ , २०१७, २०४६ , २०६२÷०६३ को आन्दोलनमा श्रमिकहरुको अग्रणी भूमिका रहेको कुरा नकार्न सकिदैन । तत्कालिन समयदेखि हालसम्म ज्यानको वाजी लगाएर तमाम नेताहरुलाई नेतृत्व प्रदान गर्ने तथा पद, प्रतिष्ठा प्रदान गर्ने काम मजदूरहरुबाट भयो तर अपसोच नेतृत्वले खोला तरेर लौरो विर्सने काम गरेको मजदूरहरुको भनाई रहेको छ । कैयन् ब्यवस्था परिवर्तन भएतापनि मजदूरको अवस्था भने परिवर्तन भएन । शासकीय स्वरुप र संरचना परिवर्तन भएतापनि एक छाक खाना र एकसरो नानाका लागि कठिन घडि पार गर्नु परेको छ मजदूरलाई । अन्य मुलुकमा ILO का मौलिक अधिकार सम्बन्धि महासन्धिहरु पालना गरेर श्रमिकहरुको हक अधिकार सुनिश्चित गरिएको छ । नेपाल सरकारले पनि साप्ताहिक विदा सम्वन्धि महासन्धि , संगठित हुने र सामूहिक सौदावाजी गर्न पाउने अधिकार सम्वन्धि महासन्धि, समान पारिश्रमिक सम्वन्धि महासन्धि , रोजगार तथा पेशामा हुने  भेदभाव सम्वन्धि महासन्धि, न्यूनतम ज्याला निर्धारण सम्वन्धि महासन्धि, वाध्यकारी श्रम सम्वन्धि महासन्धि, निकृष्ट प्रकारको बालश्रम उन्मूलन सम्बन्धि महासन्धि पारित गरेको छ तर विडम्बना कार्यान्वयन गरिएको पाइदैन । बल्लतल्ल श्रमिकहरुको न्यूनतम मासिक ज्याला दर १३४५० रुपैयाँ तोकिएको भएतापनि यसको परिपालन हुन सकेको छैन । यता नेपाल सरकारले ूसमृद्घ नेपाल , सुखी नेपालीू भन्ने आदर्श नारा तय गरेको छ । के आम श्रमिकहरु नारामा उल्लेख गरिए जस्तै सुखी हुन सक्लान् त ? अहिले यो गम्भिर प्रश्न हाम्रो सामू तेर्सिएको छ । विहानीले दिउँसोको संकेत गर्दछ भने जस्तै हुन थालेको छ र लक्ष्यमा पुग्नेले लक्षण पनि देखाउछ भनिन्छ तर त्यो पाइएको छैन ।         

अर्कोतर्फ सन् २०१९ को डिसेम्वरदेखि नोवल कोरोना भाइरस अर्थात् कोभिड नाइन्टीन चीनबाट फैलिएर विश्वभरी नै मानव नरसंहार गरेको स्थितिमा नेपाल पनि यसबाट प्रभावित हुन पुगेको छ । यसको प्रत्यक्ष मार दैनिक मजदूरी गरेर हातमुख जोर्ने श्रमिकहरुलाई परेको छ । लकडाउनका कारणले मजदूरलाई न त श्रम गर्ने अवसर छ न त भोक मेटाउने कुनै माध्यम नै छ । आफै भोकले लखतरान भैरहेको मर्माहत तथा पिडादायक अवस्थामा भोकले छटपटाइरहेका नाबालक छोराछोरीको लरबराइ रहेको अस्पष्ट बोलीले एक गास निक्लो साजी होइन वासी भए पनि खानाको माग गरेको प्रत्यक्ष आभास भएतापनि श्रमजीवी वावु आमा पिलपिल आँखामा आँसु पारेर मुकदर्शक हुन वाध्य भएका छन् । अत्यन्त रोदन छ , क्रन्दन छ , चित्कार छ , मनोभावना गलेको छ अहिले श्रमिकको ।

यसै क्रममा मे १ अर्थात् १३१ औँ अन्तर्रािष्ट्रय श्रमिक दिवस श्रमिकको सामू उभिएको छ जसले झन् मानौँ मजदूरहरुलाई मलम पट्टी लगाउनुको सट्टा कता कता जिस्काएको वा पिडा थपेको आभास गराएको पाइन्छ । किनकी भोको पेटले माम खोजेको बेला कसरी राम भज्न सकिन्छ र ? जे होस् वितेका पलहरु पिडादायक भएतापनि आगामी दिनहरु पक्कै पनि सुखी अनि समृद्ध हुने छन् । कोहि पनि श्रमिकहरु वा मजदूरहरु रोदन र क्रन्दनमा गुज्रनु पर्ने छैन भन्ने कुराको आशा गरौँ र सम्बन्धित सरोकारवालाहरुले मन्दिररुपि मजदूरहरुलाई मनग्य माया गरेर मनैदेखि उनीहरुका सबै प्रकारका मागहरु पूर्ति गर्नेतर्फ मसियाको रुपमा मच्चिनु अहिलेको आवश्यकता रहेको छ भने मजदूर एकता अहिलेको लागि नितान्त आवश्यकता रहेको छ जसले तमाम मजदूरका मागहरु पूरा गर्न कोशे ढुंगाको रुपमा काम गर्न सक्नेछ । सौदावाजी मार्फत् मजदूर र मालिकको हकहित तथा  सौहार्दपूर्ण सम्बन्ध कायम गर्न सक्नेछ । विश्वब्यापीकरण , मानवअधिकार , सुशासन , विधिको शासन , जनजिविका , प्रत्यक्ष प्रजातन्त्रको वहस चलिरहेको वर्तमान अवस्थामा सूचना तथा प्रविधिको यो अवस्थामा श्रम तथा श्रमिकहरुको Globaization को बेलामा अब Globaization कसरी गर्न सकिन्छ र नेपाल र नेपालीको हितमा कसरी श्रम र श्रमिकलाई प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि सरोकारवाला सबैले मनन , चिन्तन गर्नु पर्ने टट्कारो आवश्यकता भैसकेको छ । श्रमको सम्मान गरौँ । श्रम शक्ति नै राष्ट्र शक्ति हो र मजदूर र मजदूरीलाई मजवूरी होइन मेशिनरी (आफै चल्ने) वनाऔँ जसले समृद्ध नेपाल अनि सुखी नेपालीको नारालाई सार्थक रुप दिने छ ।

"जय श्रमिक , जय श्रमिक दिवस २०२०"

#केखक वीरबहादुर सेजवाल हुन उनि समेत नेपाल ट्रेड यूनियन काँग्रेस, सल्यानका  वर्तमान अध्यक्ष हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

Top