होमपेज / अर्थ

कपुरकोट बजेट :जेष्ठ नागरिकलाइ घरमै गएर उपचार, निकासि कर हट्ने

तिखो खबर २०७६ असार ११ गते बुधबार ०७:३६:०९ मा प्रकाशित     ४९१ पटक हेरिएको


शंकर के सी/ सल्यान, १० असार :
जेष्ठ नागरिकलाइ घरमै गएर उपचार गर्ने देखि निकासि कर नलिने जस्ता विषय समेटेर सल्यानको कपुरकोट गाउँपालिकाले निती तथा कार्यक्रम सार्वजनीक गरेको छ ।

 गाउँपालिकाका अध्यक्ष एवम् स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका संयोजक भिम बहादुर सेनले प्रस्तुत गरेको निती कार्यक्रममा चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार भवन, मोटरबाटो, खानेपानी संरचनाहरुको उत्साहप्रदरुपमा निर्माण भएको उल्लेख गरिएको छ । 

चालु आर्थिक वर्षमा स्वास्थ्य तथा शिक्षाका सूचकहरु पनि उत्साहजनक रहेका तर कृषि तथा पशु विकासको क्षेत्रमा सोचेअनुरुप तथा आवश्यकता अनुसार काम हुन नसकेको सेनले जनाए ।  आगामी आर्थिक वर्ष २०७६।०७७ को लागी प्रस्तुत निती कार्यक्रममा गर्भवती र सुत्केरी महिलाको पोषण पहुँच बढाउनका लागी उन्नत जातका कुखुरा वितरण गरिने उल्लेख छ । 

यस्तै नयाँ आर्थिक वर्षमा पनि गाउापालिकाले विगतमा झै महिला स्वास्थ्य स्वयमसेविकालाइ मासिक १ हजार रुपैयाँ प्रोत्साहन स्वरुप उपलब्ध गराउने छ ।  पालिकाभित्रका शिशु सहजकर्ता, कार्यालय सहयोगीहरु, विद्यालय लेखापाल र अनुदान शिक्षकहरुलाई पोषक व्यवस्थापन तथा खाजाको व्यवस्था गरि उनीहरुको मनोवल उच्च बनाईने उल्लेख छ । 

यस्तै विद्युत नपुगेका विद्यालयमा सोलार जडान गरि कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, आइसीटी कक्ष, पुस्तकालय स्थापना र एसईईमा उत्कृष्ट छात्रछात्रालाइ पुरस्कृत गर्ने भएको छ । युवासंग गाउँपालिका कार्यक्रमलाई निरन्तरता दिने, वडा अध्यक्ष कप र पालिका स्तरमा अध्यक्ष कप खेलकुद संचालन देखि हरेक वडामा खेल मैदान तथा गाउँपालिका स्तरिय खेल मैदान निर्माण गरिने उल्लेख छ । 

महिला, वालवालिका तथा जेष्ठ नागरिकको हितका लागी चेलीबेटी उद्यम, दिदि वहिनीसंग उपाध्यक्ष र जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यक्रम कपुरकोटको छ । घंघारीचौर पर्यटन गुरुयोजना अन्तर्गत एउटा साँस्कृतिक संग्रहालयको स्थापना गर्ने निती गाउँपालिकाले लिएको छ । 

यस्तै अर्गानीक तरकारि खेती तथा प्रांगारिक मल उत्पादन कार्यक्रममा अनुदान सहयोग गर्ने, माटोको अम्लीयपना हटाउन विशेष कार्यक्रम संचालन गर्ने र किसानले उत्पादन गरेको वस्तु विना अवरोध बजार सम्म पुर्याउनका लागी कृषि सडकहरुको स्तरोन्नती, मर्मत तथा कृषि उपज संकलन केन्द्रहरुको व्यवस्थापन गर्ने कुरालाइ निती कार्यक्रममा जोड दिइएको छ । वालीनालीको समस्या पत्ता लगाउन प्लान्ट प्याथोलोजी ल्याव, माटो परीक्षण ल्याव स्थापना गर्ने निती कपुरकोटको छ । 

जताकतै सडकका ट्रयाक खोली वातावरण विनास गर्ने कार्यलाई निरुत्साहित गर्न गाउँपालिका यातायात गुरु योजनाको पूर्ण कार्यान्वयन गर्ने, पाँच वर्ष भित्रमा सवै वडा कार्यालय सम्म पक्की मोटरबाटो पु¥याउने र सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरुका आफ्नै कार्यालय भवन निर्माण गरिने उल्लेख छ । 

नीति कार्यक्रम प्रस्तुत गर्दै गाउँसभाका अध्यक्ष सेनले आगामी आर्थिक वर्षको लागी अनुमानीत कुल वजेट सिमा रु २७ करोड ९२ लाख ३२ हजार रहने जानकारि गराए । उनले कार्य सम्पादनको आधारमा उपभोक्ता समिति तथा कामसंग सम्बन्धित समुहहरुलाई सम्मान तथा पुरस्कार र दण्डको पनि व्यवस्था रहेको उल्लेख गरे । 

गाउँसभामा विधेयक समितीका संयोजक मिन बहादुर सेनले विनियोजन विधेयक, २०७६ र आर्थिक विधेयक, २०७६ प्रस्तुत गरेका थिए । गाउँसभाका सदस्यहरुले छलफलमा भाग लिदै नीति कार्यक्रम राम्रो रहेको जनाउँदै कार्यान्वयनमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top